आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार नाघ्यो, आइसोलेसन र क्वारेन्टिन पुनः सञ्चालनको तयारी

गोकर्णेश्वर खबर४ माघ २०७८, मंगलवार १८:११ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

४ माघ, काठमाडौं । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै २४ हजार ५७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ३७ हजार ८२६ जना होम आइसोलेसन रहेका छन् । त्यस्तै मन्त्रालयका अनुसार एक हजार २१८ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसियूमा १५१ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् ।

प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसियू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीन जना आइसियूमा, बागमती प्रदेशमा ९७ आइसियुमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, गण्डकी प्रदेशमा ११ जना आइसियूमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा १३ जना आइसियुमा, कर्णाली प्रदेशमा एक जना आइसियूमा उपचररत रहेका छन् । सुदूरपश्चिममा तीन जना आइसियू र दुईजना भेनन्टलेटरमा उपचाररत रहका छन् ।

काठमाडौँ महानगरपालिका लागि आइसोलेसन र क्वारेन्टिन जोहो गरिंदै 

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।

‘हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ’, मेयर शाक्यले भन्नुभयो, ‘हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्‍यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गर्न सक्छौँ ।’