आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

गोकर्णेश्वर खबर१५ पुष २०७८, बिहीबार ०७:५१ मा प्रकाशित (२ साल अघि) ४१० पाठक संख्या

१५ पुष, काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै छ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री देउवाद्वारा ल्होसारको शुभकामना

यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छिन् ।

उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् ।

त्यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।

“नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्”, सन्देशमा भनिएको छ, “यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।”