आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौं उपत्यकाको समृद्ध सभ्यता ओझेलमा परेकोमा मन्त्रीको चिन्ता

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार १२:४३ मा प्रकाशित (२ साल अघि) २२६ पाठक संख्या

१४ पुष, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँ उपत्यकाको समृद्ध सभ्यता पछिल्लो समय ओझेलमा पर्दै गएको बताउनुभएको छ ।

मानिसको पहिचानसँग जोडिएको ऐतिहासिक कालदेखि संरक्षित यहाँको सभ्यता अव्यवस्थित निर्माण, मानिसको भीडलगायतका कारणले लोप हुने अवस्थामा पुगेको बताउनुहुँदै मन्त्री श्रेष्ठले उपत्यकाको सभ्यता, संस्कृति संस्कारलाई अन्यत्र पनि विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

नेवाः जातीय महासङ्घद्वारा राजधानीमा आयोजित ‘नेवारको भविष्य’ विषयक विचार गोष्ठीलाई मङ्गलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विकास, रोजगार र अवसरका कारण काठमाडौँ उपत्यकामा थुप्रिन बाध्य नेपालीलाई सङ्घीय संरचनामा स्थानीय तहमै आवश्यक सेवा, सुविधाको विस्तार गर्दै सभ्यतालाई पनि अन्यत्र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

उहाँले उपत्यकावासीले राजनीतिक पहुँच बढाउँदै यहाँका परम्परागत पेसा, व्यवसायलाई पनि आधुनिकीकरण बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर श्रेष्ठले सबै जातीय पहिचानसँग जोडिएका हरेक संस्कृति परम्पराको प्रवद्र्धनमा महानगरपालिकाले सक्दो सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।

अभियन्ता डा. महेशमान श्रेष्ठले उपत्यकाको समृद्ध सभ्यता बचाउन काठमाडौँलाई मेगा सिटीको नाममा कङ्क्रिटको सहर बनाउने निर्णयको विरोध गर्नुपर्ने बताउनुभयो ।

नेवाः जातीय महासङ्घका अध्यक्ष मनोज नेवाःले सांस्कृतिक विरासतको सहर काठमाडौँको समस्याको सम्बोधनका लागि डेस्ककै स्थापना हुनुपर्ने बताउनुभयो ।