आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

भक्तपुर युवा संघका जिल्ला सदस्यको हत्या आरोपमा २ जना पक्राउ

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार २१:०९ मा प्रकाशित (२ साल अघि) ४४५ पाठक संख्या

भक्तपुर । युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेमन्तलाई बुधबार विहान ०५ः४५ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँथिमी मध्यपुर अस्पताल नजिकैबाट र प्रेमलाई बुधबार बिहान ०९ः४५ बजे काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

मंगलबार साँझ ८ बजे मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघरस्थित बर्गर हाउसमा राजन श्रेष्ठ र हेमन्त श्रेष्ठले सँगै चिया खाएका थिए । त्‍यसपछि हेमन्तले राजनलाई हनुमन्ते खोला पारी दाई पैसा लिएर आएको छ भन्‍दै आफ्नो मोटरसाइकलमा फलामे पुलसम्म लगेका प्रहरीको भनाइ छ ।

त्यहाँबाट दुवैजना (हेमन्त र राजन) बालकोट जाने बाटोतर्फ पैदल हिँड्दै थिए । त्यहीबेला प्रेम विश्वकर्माले काठको फर्माले राजनको टाउकोमा प्रहार गरेको प्रहरीले बताएको छ । त्यसपछि उनीहरुले राजनको टाउकोमा पटक पटक प्रहार गरे । स्थानीय वासिन्दाले देखेर खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले राजनलाई उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।