आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

तेस्रो लहरको तयारी: देशभर बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थपिँदै

गोकर्णेश्वर खबर१५ श्रावण २०७८, शुक्रबार १८:५१ मा प्रकाशित (२ साल अघि) ४७५ पाठक संख्या

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज) विरुद्धको तयारी थालेको छ । तयारी अन्तर्गत बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूका लागि १८० भेन्टिलेटर सहितको २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको हो ।

केही दिन अगाडि नै असोज दोस्रो सातादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने मन्त्रालयले जनाइसकेको छ । देशभर हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) बेडहरु पनि विस्तार गर्ने तयारमा लागेको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलद्धारा शुक्रबार जारी विज्ञप्तीमा देशभर थप १ हजार ४०० एचडीयु बेडहरु विस्तार गर्न लागिएको जनाइएको छ । हाल देशभरका सरकारी अस्पतालहरूमा २ हजार ७५ र निजी अस्पतालमा ७७८ एचडीयु बेड सञ्चालनमा रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपुर्ति सुदृढ गर्नका लागि सरकारले सघन कार्यहरूमार्फत ५ हजार ५०० अक्सिजन कन्सट्रेटर ल्याइसकेको छ । भने थप ३ हजार ५०० अक्सिजन कन्सट्रेटर आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

‘सम्भावित तेश्रो लहर रोक्न र त्यसबाट हुन सक्ने क्षति कम गर्न हामी सबैको सामूहिक प्रयास र हाम्रा गतिविधिहरुमा जनस्वास्थ्यको मापदण्डको पालनाको महत्वपुर्ण भूमिका हुने पनि पुनः स्मरण गराउन चाहन्छौं’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

सरकारले यसअघि नै चैतसम्म उमेरअनुसार खोप लगाउन मिल्ने सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने घोषणा गरेको थियो । हालसम्म भारत, चीन तथा अमेरिकाबाट खरिद र अनुदानबाट गरी ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको र खोप अभियान जारी रहेको मन्त्रालयको विज्ञप्तीमा भनिएको छ ।