आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठ को हुन् ?

गोकर्णेश्वर खबर११ श्रावण २०७८, सोमबार ०६:२८ मा प्रकाशित (२ साल अघि) २८५ पाठक संख्या

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का पूर्वअध्यक्ष र उच्च माध्यमिक विद्यालयहरूको साझा संगठन (हिसान) का पनि अध्यक्ष हुन्, उमेश श्रेष्ठ । शिक्षा क्षेत्रमा विशेष नाम कहलिएका उनी आइतबार एक्कासी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भए ।

शिक्षा क्षेत्रमा ३ दशकभन्दा लामो यात्रा विताएका उनको एकमात्र परिचय छैन । उनको शिक्षा, कृषि, व्यापार/व्यवसाय, बैंक, होटलमा पनि लगानी रहेको छ । कुनै बेला राजधानीकै सर्वाधिक चर्चामा आउने लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष श्रेष्ठ प्राइम बैंकको अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

कर्म र भाग्य दुवै कारण प्रतिनिधिसभा भएको भन्न रुचाउने श्रेष्ठ जीवनमा दुई कुराले मात्र नपुग्ने र त्यसमा परिश्रम छुटाउन नहुने बताउँछन् ।

भोजपुरबाट एसएलसी उत्तीर्ण गरेर राजधानी प्रवेश गरेका/ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठमाथि यसअघि पटक पटक ‘विद्यालय माफिया’ को आरोप लाग्दै आएको छ ।

समानुपातिक तर्फबाट कांग्रेसबाट सांसद बनेका उनी विद्यालय चलाएर अथाह रकम आर्जन गरेको यसअघि नै समाचारहरु प्रकाशनमा आइसकेका छन् । त्यस्तै श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन प्रस्ताव रोक्ने प्रयास गरेको पनि त्यत्तिबेला आरोप लागेको थियो ।

यसअघि उनी सांसद हुँदा निजी विद्यालयलाई सहकारीमार्फत सञ्चालनका लागि सरकारले तयारी गर्दा उनले त्यो कदमलाई लत्याएको पनि आरोप छ ।

हाल उनीसँगै कांग्रेसबाट विश्वको धनाढ्य व्यक्ति ‘फोब्र्स पत्रिका’मा नाम दर्ज गर्न सफल व्यापारी विनोद चौधरी पनि सांसद् रहेका छन् । त्यस्तै, कांग्रेसबाटै ठेकेदार एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामा पनि सांसद रहेका छन् ।