आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आइपुग्यो चीनबाट खोप

गोकर्णेश्वर खबर२६ असार २०७८, शनिबार ०७:३३ मा प्रकाशित (२ साल अघि) ४०८ पाठक संख्या

काठमाडौँ, असार २६ गते । चीनसँग खरिद गरिएको आठ लाख नौ हजार छ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद गरेको खोपमध्ये पहिलो चरणमा आठ लाखभन्दा बढी खोप आएको जानकारी दिनुभयो ।

चीनको राजधानी बेइजिङबाट खोप लिएर नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार बिहान साढे ६ बजे काठमाडौँ अवतरण गरेको थियो । उक्त खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने तयारी गरेको छ । चीनसँग नेपाल सरकारले ४० लाख मात्रा भेरोसेल खोप खरिद गरेको हो ।
परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले उक्त खोप छिट्टै सबै प्रदेश तथा जिल्लामा पठाइने जानकारी दिनुभयो । राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार नै खोप लगाइने जानकारी दिँदै उहाँले अब दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिइने बताउनुभयो ।

सरकारले ५५ देखि ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप दिने तयारी गरेको छ । यसअघि काठमाडौँ उपत्यकामा ६० वर्षभन्दा माथि र उपत्यकाबाहिर ६२ वर्षभन्दा माथिका उमेर समूहलाई खोप लगाइएको थियो । सरकारले ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पनि अबको खोपको प्राथमिकतामा पर्नेछन् । खोप शाखा प्रमुख डा. गौतमले यस विषयमा आधिकारिक निर्णय नभए पनि राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार खोप लगाइने प्रष्ट पार्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ लाख ७१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्, जसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा सात हजार ५९ हजार ९५४ जनाले लगाएका छन् ।