आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १५:०७ मा प्रकाशित (२ साल अघि) ४४७ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट नागरिकको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकताको काम भएको पटकपटक प्रतिवद्धक्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्रीकारुपमा कार्यभार सुरु गरेपछि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने कार्यहरूमा सम्पूर्ण सामथ्र्य, स्रोत साधन लगाएर गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका छन् ।

नेपालमा सङ्क्रमणको दरमा कमी ल्याउन देशभरका ७४ जिल्लामा निषेध आदेश जारी गरिएको अवस्थामा नागरिकको जीवन रक्षालाई पहिलो प्राथामिकतामा राखी यस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारकामा सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन् ।

सरकारबाट कोभिड–१९ नियन्त्रणका लागि भएका प्रयासमा सङ्क्रमितका लागि अक्सिजनको अभाव हुन नदिन तत्काल अक्सिजन प्लान्ट खरिद गरिने, सङ्क्रमित सबैको उपचार गर्न सक्ने गरी अस्पताल एवं स्वास्थ्य संस्थाहरूमा जीवनरक्षक औषधिलगतालयका स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गरी भौतिक तथा संस्थागत पूर्वाधार विकास गरिने, कोभिड–१९ को उपचार र व्यवस्थापनमा कमी हुन नदिनका लागि आवश्यक चिकित्सकलगायतका स्वास्थ्यकर्मी थप गरी अग्रपङ्तिमा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायत कर्मचारीहरूलाई प्रोत्साहन सुविधा उपलब्ध गराइने रहेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था गरिने, कोभिड–१९ महामारीबाट उद्योग, व्यवसाय, उत्पादन र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न विशेष व्यवस्था गरिनेलगायतका विषयमा गम्भीरतापूर्वक प्राथमिकता निर्धारण गरी कार्यसम्पादन सुरु गरेको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण, औषधीलगायतका सामग्रीको पैठारीमा लाग्ने कर छुट दिने, अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर आयात गर्दा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर लगायतका अन्य सबै कुर छुट दिने व्यवस्था गरेको छ ।

सरकारले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क, एचडियूलगायत स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार सहमति छ ।

कोभिड नियन्त्रण द्रुत कार्ययोजना कार्यान्वयन गर्न रु १४ अर्बसम्मको खर्च गर्ने गरी सहमति प्रदान गरिएको छ । कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री, उपचार, औषधिलगायत अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन भन्सार विभागद्वारा ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिएको छ । साथै त्यस्ता सामग्री छिटो भन्सार जाँचपास गर्न संक्षिप्त कार्यविधि तयार गरिएको छ ।

उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, उपकरण र औषधिका लागि वैदेशिक सहायता प्रक्रियालाई तीव्र बनाइ, चीन सरकारबाट अक्सिजन सिलिन्डरसहितका सामग्री प्राप्त हुने क्रम जारी रहेको छ । अमेरिका, स्वीट्जरल्यान्डलगायतका देशहरुबाट पनि सहायता प्राप्त हुने क्रम जारी रहेको छ ।

उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलले गत वैशाख २४ गते नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्सअन्तर्गतको खोप साथै भेन्टिलेटर, पिपिई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि र खोपसँगसम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्ति विषयमा नेपालको अपेक्षासहित सहजीकरणका लागि आग्रह गरेका छन ।

सिसिएमसीद्वारा चाल्नाखेलस्थित सगरमाथा अक्सिजनको प्लान्ट मर्मत गर्न आवश्यक भएकोले नेपाली सेनाका प्राविधिकहरूलाई खटाइएको छ । बनेपास्थित नवज्योति अक्सिजन प्लान्टका सबै कर्मचारीहरू कोभिड सङ्क्रमित भएकाले उक्त उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई प्राविधिक जनशक्ति खटाउन अनुरोध गरिएको छ ।

देशभरका अक्सिजन उद्योगहरूको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने÷गराउने, अक्सिजन उद्योगहरूमा विद्युत तथा खानेपानीको नियमित आपूर्ति गर्ने, उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिन्डरसम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने काम गरेको छ ।

अक्सिजन सुविधासहितको बेड सङ्ख्या थप गर्ने, कालो बजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र स्टक राख्ने तथा लुकाउने उपर कानूनी कारबाही गर्ने/गराउने र अक्सिजन प्रयोगको मापदण्ड यथाशीघ्र टुंग्याउने काम गर्ने निर्णय गरी काम अघि बढाएको छ ।

अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरुमा बिना व्यवधान चौबिसै घन्टा विद्युत र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी/प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने, विदेशबाट अक्सिजन ट्यांकर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने काम भएको छ ।

प्रमुख अस्पतालहरुमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आइसियू, एचडियू, भेन्टिलेटर र बिरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने निर्णय गरी काम अघि बढाएको छ ।

उद्योगहरुलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सिसिएमसीले गर्ने, सम्बद्ध उद्योग चौबिसै घन्टा सुचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरुबाट काठमाडौं उपत्यका बाहिरका अक्सिजन उद्योगहरुबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रबन्ध गर्ने, औषधि उपकरणलगायतका मानवीय सहायता हवाइमार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।

उपप्रधानमन्त्री पोखरलले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँग कोभिड नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले छिट्टै अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीको सहयोग गरिने प्रतिवद्धक्ता व्यक्त गरेका छन् ।

व्यक्ति स्वयंले स्वास्थ्यका मापदण्डको पालना गर्दै कोभिड–१९ बाट बच्न र बचाउनका लागि सरकार, सरोकारवाला निकाय, देशविदेशमा रहेका नेपाली सबै मिलेर सहयोग र सहकार्य जरुरी छ । रासस