आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग, सरकारको नेतृत्व लिने निर्णय

गोकर्णेश्वर खबर२० चैत्र २०७७, शुक्रबार २१:०८ मा प्रकाशित (३ साल अघि) ४८८ पाठक संख्या

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा पुन:स्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक-पटक भेटेर आग्रह गर्दै आएका थिए । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।

दाहालले कांग्रेस र जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दलहरुबीच सरकार बनाउने एकमत हुनासाथ आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् । माओवादी केन्द्रले अहिलेसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन ।

पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा विभाजित भएको थियो । जसमा दाहाल, माधव नेपाल र झलनाथ खनाल समूह ओलीको कदमको विरोधमा र ओली आफूले चालेको कदम सही भन्दै आएका थिए । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएपछि पनि दलहरुबीच ध्रुविकरण जारी छ । सर्वोच्चबाट २३ फागुनमा भएको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । कान्तिपुर