आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

मेलम्चीको पानी सुन्दरीजलमा झर्दा ओलीले भने- ‘लड्डु यस्तो बेला खाने हो’

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार २०:२२ मा प्रकाशित (३ साल अघि) ३२० पाठक संख्या

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जतिबेर पायो त्यतिबेर लड्डु खान नहुने भन्दै नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत मेलम्ची खोलाको पानी सुन्दरीजलमा झारिएको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘यो खुशीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । लड्डु यस्तो बेलामा खानुपर्छ । खुशी यस्तो बेलामा हुनुपर्छ ।’

सर्वोच्च अदालतले गत ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि नेकपाका प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाउँदै खुशीयाली मनाएका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।