आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

यस्तो ठाउँ जहाँ कोही बच्चा प्रधानमन्त्री छन् त कोही राष्ट्रपति !

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १७:४२ मा प्रकाशित (३ साल अघि) १२१८ पाठक संख्या

एजेन्सी– बच्चाहरु नै राष्ट्रपति र प्रधानमन्त्री छन् भन्दा तपाइँलाई अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरु कोही राष्ट्रपति, केही प्रधानमन्त्री त कोही ठूला कम्पनीका मालिक पनि छन् ।

त्यो गाउँमा गएको बेला तपइँलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर भन्यो भने अचम्म नमान्नुहोला ।

किनभने भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरुमा कोही राष्ट्रपति छन्, कोही प्रधानमन्त्री त कोही विभिन्न मोबाइल कम्पनीका मालिक ।

खासमा यो गाउँका मानिसहरुलाई आफ्ना छोराछोरीको नाम राख्दा विभिन्न पदको नाम, मोबाइल कम्पनीको नाम तथा अदालतको नाम समेत राख्ने ठूलो शौख रहेको छ ।

त्यसैले त्यो जिल्लामा उच्च पदहरु, कार्यालयहरु, मोबाइल ब्राण्ड तथा एसेसरिजको नामबाट आफ्ना बच्चाको नाम राख्नु निकै सामान्य कुरा हो ।

राष्ट्रपति, प्रधानमन्त्री, सामसुङ, एन्ड्रोइड मात्र होइन सिमकार्ड,, चिप, जिओनी, मिस कल, राज्यपाल, हाइकोर्ट जस्ता अनौठा नामका बालबालिकाहरु त्यो गाउँमा पाइन्छन् ।

झण्डै ५ सय कन्जड समुदाय बस्ने उक्त गाउँ सायद संसारको त्यस्तो एकमात्र गाउँ हो जहाँ विचित्र नाम राखिन्छ । आमरुपमा यो समुदायका मानिसहरु अशिक्षित छन् ।

तर यस्तो आधुनिक नाम राख्ने उनीहरुको चलनले यो बताउँछ की उनीहरु आधुनिकता र शिक्षाप्रति निकै लालयित छन् ।

एजेन्सीको सहयोगमा