आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

दिल्लीको आकाशे पुलमुनि एयर इण्डियाको जहाज अड्किएपछि…

गोकर्णेश्वर खबर२० आश्विन २०७८, बुधबार १०:३६ मा प्रकाशित (२ साल अघि) ४२२ पाठक संख्या

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको आकाशे पुलमुनि फसेको एयर इण्डिया विमानको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । बिक्री गरिएको विमानलाई किनेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ ।

रातको समयमा खिचिएको सो भिडियोमा विमानका पखेटा झिकिएको देखिन्छ । त्यसको तलबाट सवारीसाधन गुडेको देख्न सकिन्छ ।

दिल्लीका एक पत्रकारले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि एयर इण्डियाले एक विज्ञप्ति जारी गर्दै बिक्री भइसकेको सो विमानसँग कम्पनीको कुनै सरोकार नभएको जनाएको छ ।

‘यो एयर इण्डियाको दर्ता नभएको विमानको कप्टेरो हो, जसलाई कबाडीमा बिक्री गरिएको थियो । किन्ने पक्षले त्यसलाई लगेका थिए । जुनसुकै अवस्थामा भए पनि त्यसबारे एयर इण्डियाको कुनै सरोकार छैन,’ विज्ञप्तिमा भनिएको छ ।

दिल्ली विमानस्थलका अधिकारीहरूले सो विमान दिल्ली विमानस्थलमा नभएको पुष्टि गरेको भारतीय समाचार संस्था दी टाइम्स अफ इन्डियाले जनाएको छ ।

विमान लैजानले क्रममा चालकका लापरबाहीका कारण पुलमुनि अड्किएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

भिडियोलाई ट्विटर र सामाजिक सञ्जालमा हजारौं पटक हेरिएको छ । विमान कसरी पुलमुनि फस्यो भन्दै सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले प्रश्न गरेका छन् ।