आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

यार्सागुम्बा मिसाएर बनाइएको यो हो नेपाली मदिरा : बोतलको २८ हजार, १७० देशमा निर्यातको तयारी !

गोकर्णेश्वर खबर१२ कार्तिक २०७७, बुधबार १६:२० मा प्रकाशित (३ साल अघि) ६१४ पाठक संख्या

काठमाडौं । लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका व्यवसायी गोविन्द अग्रवालले मदिरा उत्पादनको क्षेत्रमा काम थालेका छन् । उनले बिक्की गोयनकासँग मिलेर मदिरा उद्योगको क्षेत्रमा हात हालेका छन् ।

लक्ष्मण श्रेष्ठले ‘जैविक सुन’ भनिने हिमाली जडिबुटी ‘यार्सागुम्बा’को नाममा लामो समयदेखि एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिमार्फत काम गरिरहेका थिए ।

अग्रवाल र गोयनकाले यसलाई विश्वव्यापीकरण गर्न सकिने आंकलनसँगै आफूहरुले तीनवर्षदेखि लगानी गरेको बताएका छन् । अहिले श्रेष्ठ कम्पनीको अध्यक्ष छन् । अग्रवालले इन्टरनेसनल बिजनेस डेभलपमेन्ट भर्टिकल र गोयनकाले उत्पादनको इनोभेसन तथा रिसर्च एण्ड डेभलपमेन्टको क्षेत्रमा काम गरिरहेका छन् ।

औषधीय गुणले युक्त भएकाले अहिले संसारका विभिन्न देशमा यसको उत्पादन लोकप्रीय बन्न थालेको छ । एक वर्षमा ६ हजार लिटरमात्रै उत्पादन हुने एभरेष्ट हब्र्सको क्षमता १२ लाख बोतल पुर्याउने अवस्थामा पुगेको छ ।

कलर, फ्लेवर र केमिकलको समिश्रण नभएकाले यसले अन्तर्राष्ट्रिय परीक्षण प्रमाणपत्रसमेत प्राप्त गरेको छ । त्यसैले छोटो समयमै यसले सफलता प्राप्त गर्ने सम्भावना देखिएको छ ।

७५० एमएलको बोतलमा आउने यो मदिराको नेपालमा मूल्य ११ हजार रुपैयाँ राखिएको छ । यो नेपालमा उत्पादन भएका सबै मदिरामध्ये महंगो हो । तर, कम्पनीले अब यसको मूल्य बढाउने तयारी गरेको छ ।

अफिसियल लञ्च नहुँदै एक डेढ महिनामा कम्पनीले १२ हजार बोतल बिक्री गरिसकेको छ । दुईवटा ब्राण्डमा यार्सागुम्बा मदिरा बजारमा आएको छ । प्रिमियमको मूल्य झण्डै २८ हजार नेपाली रुपैयाँ राखिएको छ ।

१ सय ७० देशमा लैजाने लक्ष्य भए पनि हाललाई ६ महिनाभित्र २० मुलुकमा लैजाने लक्ष्य भएको कम्पनीले जनाएको छ ।