आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोनाविरुद्धको औषधि नेपाली भान्सामै छ– प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार २१:१६ मा प्रकाशित (३ साल अघि) ३९२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्नुपर्ने बताएका छन् ।

महामारी नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली भान्सामा प्रयोग हुने औषधिमय चिजको प्रयोग बढ्दो रहेको बताएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समितिको दोस्रो ज्ञान सम्मेलनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगमा लडाइँ लडिएको पनि बताए ।

‘हाम्रा ज्ञान, अनुभव, सीप तथा प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौं ।’

प्रधानमन्त्री ओलीले महामारीसँग लड्दै गरेको अवस्थामा पनि विकासको गति हासिल गर्दै आएको बताउँदै त्यसमा गैरआवासीय नेपालीको पनि ज्ञान, सीप र लगानीको आह्वान गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को विश्वव्यव्यापी महामारीको असर नेपालमा पनि परेको तथा अहिलेसम्म त्यो बढिरहेको बताउँदै नियन्त्रणका प्रयासहरु जारी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने ‘अझै प्रभावकारी ढंगले प्रयासहरुलाई अघि बढाएर हामी केही समयभित्रै यसलाई न्यूनीकरण गर्ने र पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयासमा आफूलाई केन्द्रित गरेका छौं ।’