आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

लगातारको वर्षाका कारण तुम्लिङटार डुबानमा, तीन घर भत्किए

गोकर्णेश्वर खबर१३ श्रावण २०७७, मंगलवार २०:०० मा प्रकाशित (३ साल अघि) ३२७ पाठक संख्या

संखुवासभा – लगातारको वर्षाका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ ।

सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा एक सय घर डुबानमा परेका छन् । घरभित्र पानी पसेपछि तीनवटा घर भत्किएको प्रहरीले जनाएको छ ।

विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । खाँदबारी नगर क्षेत्रका विभिन्न स्थानका चार जनाको घरमा क्षति पुगेको छ ।

माटो र ढुङ्गाले बनेको कच्ची घर डुबानका कारण जोखिममा परेको छ । आज बिहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार डुबेको थियो ।

तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयवासीले बताएका छन् । घरभित्र पानी पसेपछि व्यापारी मारमा परेका छन् ।

पहिराले खाँदबारी नगरपालिका–६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको सामग्री सेनाको बराहदल गुल्म र प्रहरीले निकालेको छ ।

ढुङ्गेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।