आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

डब्ल्युएचओका विज्ञ कोरोनाको स्रोत खोज्दै चीन पुगे

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ०८:०८ मा प्रकाशित (३ साल अघि) ६२७ पाठक संख्या

एजेन्सी । कोरोना भाइरसको उत्पत्तिको स्रोत खोज्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का विज्ञहरु चीन पुगेका छन ।

डब्लूएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नीले सोमबार पुष्टि गरेका छन् ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिला चीनमा भेटिएकाले उनीहरू अध्ययनका लागि चीन गएका हुन् ।

दैनिक पत्रकार सम्मेलनका क्रममा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लूएचओका विज्ञले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालासँग छलफल गर्ने जानकारी दिए ।

धेरै ठाउँमा धेरै चरणबाट कोरोना भाइरसको विकास भएकाले उनीहरू आवश्यकताअनुसार अन्य देशमा पनि जान सक्ने उनले जानकारी दिए ।

यसअघि डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भनेका थिए, ‘कोरोना भाइरसको स्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।’

यो विज्ञान र सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित विषय भएको, यसले सबैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी सुरु भयो ? कहाँ उत्पत्ति भयो ? भन्ने पत्ता लगाउनुपर्ने उनको भनाइ थियो ।

कोरोना भाइरस पहिलो पटक गत डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका धेरै देशहरुमा यसको महामारी फैलिएको थियो । रासस ।