आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

रुपन्देहीको सैनामैनामा भयानक दुर्घटना : बाबुछोराको मृत्यु

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार ०७:३५ मा प्रकाशित (३ साल अघि) ३०९ पाठक संख्या

बुटवल – रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा भएको सवारी दुर्घटनामा एकैघरका बाबुछोराको मृत्यु भएको हो।

कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना वडा न.१ का ५० वर्षीय टेकबहादुर परियार र ३० वर्षीय सन्तोष परियारको मृत्यु भएको हो।

मृतक दुवै जना बाबुछोरा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

सन्तोष कपिलवस्तुमा कार्यरत प्रहरी जवान समेत रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।