आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

कोरोनाभाइरसको औषधि भेटियो : विज्ञ भन्छन्, ‘सर्वसुलभ छ’

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार २३:०३ मा प्रकाशित (३ साल अघि) २९२ पाठक संख्या

लण्डन : कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई बचाउन डेक्सामेथासोन नामको औषधि उपयोगी हुने विज्ञहरुले बताएका छन् ।

बीबीसीका अनुसार बेलायतका विज्ञहरुले यसको प्रयोग उपयोगी हुने बताएका हुन् । यदी युकेमा सुरुदेखि नै यस औषधिको प्रयोग गर्न पाइएको भए कम्तिमा ५ हजार मानिसको जीवन जोगिने उनीहरुको दावी छ ।

सर्वसुलभ र सस्तो मानिने यस औषधिले भेन्टिलेटरमा राखिएका र अक्सिजनमा राखिएका बिरामीको ज्यान बाँच्नसक्ने बताइन्छ । विज्ञहरुका अनुसार भेन्टिलेटरमा राखिएका प्रत्येक ८ बिरामीमा एक र अक्सिजन दिइएका २५ मध्ये एकको ज्यान बाँच्ने बीबीसीले उल्लेख गरेको छ ।

कोरोनाभाइरसको उपचार विधिबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुका लागि डेक्सामेथासोनको प्रयोग उपयोगी हुन्छ भन्ने थाहा पाउनु एक उल्लेखनीय उपलब्धि ठानिएको छ । सस्तो मुल्य पनि रहेको यस औषधि विपन्न देशहरुका लागि थप उपयोगी रहेको विज्ञहरुको सुझाव छ ।

१९६० देखि नै प्रयोगमा आएको यो औषधि पुरानो पनि हो । जुन दम र रुमटोइड अर्थाइटिसको उपचारका लागि प्रयोग हुने गर्छ । संसारका विपन्न देशमा तत्काल उपयोगी हुने भएपछि यसको परीक्षणको परीणामलाई पनि छिट्टै सार्वजनिक गरिएको छ । बिरामीलाई यो औषधि नसाबाट दिने गरिन्छ । केहीलाई चक्कीको रुपमा पनि सेवन गराइन्छ ।

२०१९ को डिसेम्बरदेखि सुरु भएको कोरोनाभाइरस महामारीबाट विश्वभर ८० लाख ३५ हजार भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । यस्तै ४ लाख ३७ हजारको मृत्यु भइसकेको छ । हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित देश हो । जहाँ २० लाख भन्दा बढीलाई संक्रमण भइसकेको छ । एक लाख भन्दा धेरैको मृत्यु भयो ।