आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

अनुहार र पार्टी नभई प्रमाण हेरेर कारबाही अगाडी बढाउन गृहमन्त्री लामिछानेको निर्देशन

गोकर्णेश्वर खबर२७ फाल्गुन २०८०, आईतवार १७:५५ मा प्रकाशित (१ महिना अघि) १३० पाठक संख्या

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले अभियुक्तको अनुहार, पद, प्रतिष्ठा, पहुँच नहेरी प्रमाण हेरेर अनुसन्धान र कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

आइतबार विहान प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिँदै त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफैं डटेर गर्ने बताए।

‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ’ उनले भने, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस्। त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु।’

कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानूनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता संगठनले गर्नुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, “कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उनले जोड दिए । ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको समेत बताए ।
।”
गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गरे । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढि सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उनले निर्देशन दिए । मिटरब्याज पीडित, सहकारी पीडितहरूको समस्या ठूलो चुनौतिको रूपमा रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा जनचेतना अभिवृद्धिको साथै मन, वचन र कर्मले सेवाभावका साथ जनअपेक्षा अनुरूप काम गर्न उत्प्रेरित भई उत्कृष्ट नतिजा ल्याउन उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीको सांगठनिक संरचना, जनशक्ति परिचालन, समस्या र चुनौतीबारे जानकारी गराएका थिए भने त्यसअघि मन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।