आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सरकारी जग्गा हडप्नेलाई निर्ममभन्दा निर्मम कारबाही गर्न निर्देशन दिन चाहन्छु : गृहमन्त्री लामिछाने

गोकर्णेश्वर खबर२४ फाल्गुन २०८०, बिहीबार ०८:०८ मा प्रकाशित (१ महिना अघि) ४३ पाठक संख्या

काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाबाट सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

बुधबार राष्ट्रपति निवासमा शपथ ग्रहणपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्दै उनले ७७ वटै जिल्लामा सरकारी जग्गा हडप्नेहरूलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

उनले निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा ७७ वटै जिल्लामा सरकारी जग्गालाई फिर्ता ल्याउन गरिएको परिपत्रलाई नै कार्यान्वयन गर्न पहिलो निर्णय गरेको बताए।

यसअघि नै निर्णय भएको छ। कसैले अनधिकृत रूपमा देशको जग्गा, सरकारको जग्गा, सरकारको सम्पत्ति हडपेर बसेको छ भने, त्यसलाई निर्ममभन्दा निर्मम कारबाही गर्न म निर्देशन दिन चाहन्छु, उनले भने।

उनले चाँडोभन्दा चाँडो सरकारी जग्गाहरू फिर्ता ल्याउन समेत निर्देशन दिए।

अघिल्लो कार्यकालका गृहमन्त्रीज्यूले गर्नुभएको थियो। जसरी पनि ७७ वटै जिल्लामा जहाँजहाँ सरकारी जग्गा हडपिएको छ, त्यसलाई चाँडोभन्दा चाँडो सरकारका नाममा ल्याउने कामको सुरूबत गर्ने त्यो निर्णयलाई नै निरन्तरता प्रदान गर्ने नै मेरो आजको पहिलो निर्णय हो, उनले भने।

यस्तै उनले गृह प्रशासनमा सरूवा गर्नु नै कारबाही हो भन्ने भाष्यलाई गलत साबित गर्नुपर्ने पनि बताएका छन्। कुनै कर्मचारीले गल्ती गरे सरूवा गर्ने कामले गलत भाष्य सिर्जना भएको बताउँदै उनले त्यसलाई गलत साबित गर्नुपर्ने बताएका हुन्।

म स्पष्ट पार्न चाहन्छु साथीहरू, सरूवा सजाय होइन। तपाईंहरूलाई सरूवा गर्नु भनेको सजाय गर्नु भन्ने जुन भाष्य सिर्जना भएको छ, त्यसलाई गलत साबित गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ, उनले भने, हामी स्पष्ट रूपमा अगाडि बढ्न जरूरी हुन्छ। कसैले गलत गरेको छ भने सरूवा गरेर त्यसलाई टालटुल गर्ने त्यो किसिमको परिपाटीको अन्त्य गर्न हामीले काम गर्नुपर्नेछ।