आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीको बयान– कानुन विपरीत भए जग्गा फिर्ता गर्न तयार छु

गोकर्णेश्वर खबर२० माघ २०८०, शनिबार २०:०३ मा प्रकाशित (२ महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले प्रहरीसमक्ष बयान दिँदै कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् ।

सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् ।

सीआईबी टोलीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार दिनभर बयान लिइएको थियो । त्यसक्रममा चौधरीले आफूले सबै काम कानुन अनुसार नै गरेको बताएका थिए ।

यदि कानुन विपरीत हो भने आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरेर तीन महिना लामो अनुसन्धानपछि चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको थियो । ब्यूरोले संकलन गरेको कागजात र प्रमाणका आधारमा उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले बताएका छन् ।

प्रहरीले बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण थापासँग पनि बयान लिइसकेको छ । उनले आफूले गरेको निर्णय गलत हो भन्ने थाहा नभएको बयान दिएका छन् । ‘मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्छ भन्ने मलाई कसैले भनेनन्’, उनले भनेका छन्, ‘भनेको भए निर्णय गर्ने थिइनँ ।’

प्रहरीले बिहीबार अपराह्न सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको थियो । बिहीबार चौधरी र थापालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

ठाकुरलाई प्रहरीले शुक्रबार अदालत उपस्थित गराएको थियो । शुक्रबार उनको पनि चौधरी र थापासँगै म्याद मिलान गर्ने गरी अदालतबाट अनुमति प्राप्त भएको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् ।

प्रहरीका अनुसार, चौधरी समूहले ०४३ सालयता श्रृंखलाबद्ध रुपमा निर्णयहरु गरेर बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी कम्पनी मातहत ल्याइको भेटिएको छ ।