आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

कर तिरेको छु भन्दैमा कसैलाई पनि अपराध गर्ने र राज्यलाई लुट्ने छुट दिन सकिन्नँ : गृहमन्त्री श्रेष्ठ

गोकर्णेश्वर खबर१९ माघ २०८०, शुक्रबार १६:२८ मा प्रकाशित (२ महिना अघि) ४४ पाठक संख्या

पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताएका छन् । कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने वक्तव्यबाजी र दबाब सुरु हुने उनले बताए ।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेपछि नेपाल उद्योग परिसंघले विरोध गरेको छ ।

त्यसको भोलिपल्ट गृहमन्त्री श्रेष्ठले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन नसकिने बताएका हुन् । पोखरामा शुक्रबारबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाब र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिए ।

‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर’ गृहमन्त्री श्रेष्ठले भने, ‘उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ । हामीले कर तिर्‍या’छौं, उद्योग व्यवसायीलाई त गर्न भएन नि भन्छन् ।’

निजी क्षेत्रको सहयोग विना देशको अर्थतन्त्र सकारात्मक दिशामा जान नसक्ने आफूहरुले बुझेको बताए । तर कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ थियो । उने भने, ‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्नँ । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्नँ ।

श्रेष्ठले अघि भने, ‘यसप्रकारको दबाब र हस्तक्षेप भइरहने हो भने हामीले हाम्रो देशलाई फेर्न पनि सकिन्नँ । त्यसैकारण म राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सबै साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरु दृढतापूवर्कक उभिनुस् ।’

उनले अवान्छित हस्तक्षेपबाट भयभीत नहुन आग्रह गरे । सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागीदार वा सत्तासँग पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने जालसाजी, किर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने श्रेष्ठले दाबी गरे ।