आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोकर्णेश्वर गोली प्रकरण : सिन्धुलीका ३६ वर्षीय अमर घलान घाइते,लुटेरासमूहबाट ७ राउन्ड गोली र पेस्तोल बरामद

गोकर्णेश्वर खबर२५ आश्विन २०८०, बिहीबार १५:२६ मा प्रकाशित (६ महिना अघि) ४३७९ पाठक संख्या

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका ३ जगडोलमा प्रहरीले गोली हानेर पक्राउ गरेका व्यक्ति सिन्धुलीका भएको खुलेको छ।

बिहीबार दिउँसो गोकर्णेश्वर नगरपालिका ३ को जगडोलमा ३ वटा मोटरसाइकलमा आएका ‘लुटेरा समूह’विरुद्ध उपत्यका उपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेको हो।

उनीहरू लुट्न गएको सूचनाका आधारमा पिछा गरिरहेको प्रहरी टोलीलाई नै आक्रमण गर्न लागेपछि गोली चलाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका २ का अन्दाजी ३६ वर्षीय अमर घलान रहेको मैनालीले बताए।

उनका अनुसार घलानको घुँडामुनि र तिघ्रामा गोली लागेको छ। उनलाई प्रहरीले गोकर्णेश्वर ८ अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (जोरपाटी) लगेको छ।

प्रहरीले लुटेरा समूहका थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा छन्। उनीहरू चढेका दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

तर अर्को मोटरसाइकलमा रहेका दुईजना भने फरार भएको प्रहरीले जनाएको छ।

उनीहरूको खोजतलास प्रहरीले व्यापक रुपमा गरिरहेको एसएसपी मैनालीले बताए। प्रहरीले उक्त समूहबाट ७ राउन्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ।