आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

काभ्रे तेमालका २५ वर्षीय देवसिंहको अपहरण गरेको आरोपमा दुई पक्राउ

गोकर्णेश्वर खबर१७ आश्विन २०८०, बुधबार २०:५७ मा प्रकाशित (७ महिना अघि) २९६ पाठक संख्या

काठमाडौं । काठमाडौंमा एक जना पुरूषको अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काभ्रे तेमाल गाउँपालिका ८ घर भई भक्तपुरको राधेराधे बस्ने २५ वर्षीय देवसिंह लामाको अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनलाई सोमबार अपराह्न ५ बजे भक्तपुरको मध्यपुर ठिमीबाट अपहरण गरी काठमाडौंको गोंगबुस्थित द बर्गर हाउसमा बन्धक बनाइएको थियो।

प्रहरीलाई राति ८ बजे बन्धक बनाएको भन्ने खबर आएको थियो। उक्त खबरपछि परिसरबाट प्रहरी निरीक्षक राजन ढकालको कमान्डमा टोली खटिएको थियो।

उक्त टोलीले त्यही बेला लामाको उद्धार गरी उनको परिवारको जिम्मा लगाएको एसपी ढुंगेलले बताए। देवसिंहलाई सुरूमा भक्तपुरमा मोटरसाइकलमा राखेर लगिएको थियो। तर पछि ट्याक्सीमा हालेर नयाँ बसपार्क पुर्‍याएर कुटपिट गरेका थिए। कुटपिट भइरहेको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका घर भई बौद्ध बस्ने ३६ वर्षीय आशालाल लामा र सामाखुसी बस्ने ३३ वर्षीय भोज लामा छन्।

प्रहरीको प्रारम्भिक अनुसन्‍धानबाट बुद्धचित्तको लेनदेन सम्बन्धमा कुरा नमिलेपछि अपहरण गरेको खुलेको हो। आशालालले बुद्धचित्तका लागि देवसिंहलाई बैना दिइसकेका थिए। तर पीडित देवसि‌ंहसँग एक जना चिनियाँ नागरिकले बुद्धचित्त किनेका थिए। त्यही विषयमा उनीहरूबीच विवाद भएपछि अपहरण गरेको खुलेको हो। सुरूमा आफूहरूले बैना गरेको हुँदा अपहरण टोलीले ९ लाख माग गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूमाथि अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। पीडितले ८ जनाविरूद्ध जाहेरी दिएका छन्।