आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

रिगलको सजाय मिनाहविरुद्ध अनशनरत भारती सर्वोच्च परिसरमै बेहोस भएर ढलिन्

गोकर्णेश्वर खबर१७ आश्विन २०८०, बुधबार १५:३१ मा प्रकाशित (७ महिना अघि) ५४ पाठक संख्या

काठमाडौं । सरकारले आफ्ना श्रीमान्‌का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा अनशनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा बेहोस भएर ढलेकी छन् । तारिख लिएर फर्किने क्रममा बेहोस भएर लडेकी उनलाई वीर अस्पताल लगिएको छ ।

उनले आजै काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल (रिगल)को बाँकी सजाय मिनाह गरेका थिए ।

त्यसको विरोधमा रिगलले हत्या गरेका चेतनकी श्रीमती भारतीले अनशन सुरु गरेकी हुन् । चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेको प्रकरणमा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका छन् । राष्ट्रपतिबाट सजाय मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका उनी लावालस्करसहित नेपालगञ्ज आएका थिए । उनलाई माफी दिने सरकारको सिफरिसको चौतर्फी विरोध भइरहेको छ ।