आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

सुन प्रकरण : महरालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

गोकर्णेश्वर खबर१३ भाद्र २०८०, बुधबार १९:२२ मा प्रकाशित (८ महिना अघि) ४३ पाठक संख्या

काठमाडौँ । भेपमा लुकाएर सुन लुकाएर तस्करी गरेको प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद पाएको हो।

विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करी अनुसन्धानका लागि सीआईबीले राहुललाई बुधबार पक्राउ गरेको थियो।

उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको थियो। प्रहरीले १० दिन समय मागे पनि ५ दिन मिलेको हो।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर सम्पर्क देखिएको थियो।

सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूले २५० भन्दा धेरै पटक फोन सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।

ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान पनि नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।