आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

एसीसी इमर्जिङ कप : नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित

गोकर्णेश्वर खबर२९ असार २०८०, शुक्रबार १६:२२ मा प्रकाशित (९ महिना अघि) १४४ पाठक संख्या

काठमाडौं । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको छ ।

कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा जितका लागि पाएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो।

नेपालका लागि पवन सराफले ओपनर हसिबुल्ला खानलाई १२ रनमा गुल्सन झाको हातबाट र अर्का ओपनर सइम अयुबलाई पनि २४ रनमा बाउन्ड्री लाइनमा प्रतिस्थापन भएर आएका सन्दीप जोराको हातबाट क्याच आउट गराएका थिए ।

हसिबुल्लले २३ बलमा १ चौका सहित १२ रन बनाए । पहिलो बलमा नै सोमपाल कामीको बलमा स्लिपमा बसेका कुशल भुर्तेलले उनको क्याच लिन सकेका थिएनन् । पहिलो बलमा नै जीवन दान पाएका उनी ७.१ ओभरमा क्याच आउट भए ।

पाकिस्तानका अर्का ब्याटर वमिर बिन युसुफ ३६ रनमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।

सुरुमा पाकिस्तानी बलर मोहम्मद वासिम जुनिय र शहनवाज दहानीको बलिङसामु नेपालको इनिङ्स धर्मराएको थियो । नेपालले रन बनाउन संघर्ष गरिरहेको थियो ।

सुरुवाती १० ओभरभित्रै ६ विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरभित्र ८ विकेट गुमाइसकेको थियो । तर सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि नेपालले ३७ ओभरसम्म ब्याटिङ गर्न सफल भयो ।

नेपालका लागि नवौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दशौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले २४ बल खेल्दै १ चौका र २ छक्का मदतमा २६ रन बनाए ।

१५.४ ओभरमै नेपाल ७२.८ को नाजुक अवस्थामा पुगेको थियो । तर नेपालको इनिङ्स उकास्न सोमपाल र प्रतिश मिलेर नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे ।

दशौं विकेटका लागि सोमपालले ललित राजवंशीसँग मिलेर ४९ रनको साझेदारी गरे । सोमपालले ३३औं ओभरको पहिलो बलमा हमद बटलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएर आउट भए ।

गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे । कप्तान रोहित पौडेल ४ तथा कुशल भुर्तेल र पवन सर्रफ समान १ रनमा आउट हुँदा भीम सार्कीले खाता समेत खोल्न सकेनन् ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।