आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता,३ दिनदेखि बन्द रहेका सबै सेवाहरु सूचारु

गोकर्णेश्वर खबर३ असार २०८०, आईतवार १८:०१ मा प्रकाशित (१0 महिना अघि) ४४५ पाठक संख्या

काठमाडौं। नेपाल मेडिकल कलेजको सम्पूर्ण सेवाहरु सूचारु भएको छ । प्रहरी प्रशासन, स्थानीय निकाय र सरोकारवालाहरुले कलेजमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीको सुरक्षाको प्रतिबद्धता जनाएपछि ३ दिनदेखि बन्द रहेका सबै सेवाहरु सूचारु गरिएको हो ।

शनिबार गहृमन्त्री नारायणकाजी श्रेष्ठ समेतले अस्पतालमा भएको तोडफोडमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए । प्रहरी प्रशासनले आइतबार अपरान्ह भित्रै जेठ ३० गते भएको तोडफोड र आक्रमणमा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि अस्पतालका सेवाहरु सूचारु गरिएको कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले जानकारी दिए ।

‘कुनैपनि डाक्टरले बिरामी मार्ने काम गर्दैन, बिरामी भनेको उसको भगवान हो । ३० गते भएको घटनामा यदी डाक्टरको गल्ती थियो, अस्पतालको गल्ती थियो भने त्यसको कानुनी उपचारमा गएर छानविन गर्नुपर्दथ्यो । तर, उहाँहरुले डाक्टरहरुलाई नै मार्छौं, काट्छौं भनेपछि बाध्यताले सेवाहरु बन्द गर्नुपरेको थियो । प्रशासन, स्थानीय तहले सुरक्षाको प्रतिबद्धता जनाएकोले आजैदेखि हाम्रा सबै सेवाहरु सूचारु गरेका छौं ।’ नेपाल मेडिकल कलेज गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छ अन्सारीले भने ।

आइतबार बिहान अस्पतालका सबै सेवाहरु खुलाउन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, उपमेयर सान्नानी लामा, महानगरिय प्रहरी वृत्त, बौद्धका डिएसपी हरिबहादुर बस्नेत समेतको उपस्थिति रहेको थियो । सो क्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले अस्पतालमा भएको घटनाको छानविन गरी दोषी माथि कारवाही गर्ने सवालमा नगरपालिकाले समन्वय गर्ने तथा आउँदा दिनमा अस्पताल र त्यहाँ कार्यरत डाक्टर, नर्स तथा कर्मचारीको सुरक्षा गर्न प्रतिबद्धता जनाए ।

उपमेयर सान्नानी लामाले अस्पताल नगरकै गौरब भएको बताउँदै अस्पतालमा शान्ति सुरक्षा कायम गर्न आफुहरुले सकारात्मक भूमिका निभाउने प्रतिबद्धता जनाइन् ।