आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं महानगर भित्र भोलीदेखि भारतीय फिल्म प्रदर्शनमा निषेध

गोकर्णेश्वर खबर३ असार २०८०, आईतवार १७:३१ मा प्रकाशित (१0 महिना अघि) २०२ पाठक संख्या

काठमाडौं । काठमाडौं‌ महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने घोषणा गरेको छ।

‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने काठमाडौं महानगरपालिका मेयर बालेन शाहले घोषणा गरेका हुन।

मेयर बालेनले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गर्दा पनि नहटेको बताएका छन्।

महानगरभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ, उनले लेखेका छन्।

यस्तै, बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए।

तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन । आज सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्नेछ।

बालेनले लेखेका छन्- ‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ ।

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।’