आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

आज महाशिवरात्रि, गोकर्णेश्वरका शिव मन्दिरहरुमा भक्तजनको भिड

गोकर्णेश्वर खबर६ फाल्गुन २०७९, शनिबार ०८:१५ मा प्रकाशित (१ साल अघि) ८९ पाठक संख्या

६ फागुन, काठमाडौं । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

आज बेलुका ६ बजेर ६ मिनेटसम्म त्रयोदशी तिथि रहेको छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि आइतबार दिउँसो ३ बजेर ४४ मिनेटसम्म रहेको छ । चतुर्दशी तिथि शनिबार मध्यरातमा परेको छ ।

गोकर्णेश्वरका शिव मन्दिरहरु शिवरात्रीमय 

महाशिवरात्रीको विशेष दिनमा आज गोकर्णेश्वर नगरपालिकाका शिव मन्दिरहरु शिवरात्रीमय भएका छन् । आज शिवालयहरुमा दर्शनार्थीहरुको चहल पहल रहेको छ । जोरपाटी नयाँबस्तिमा रहेको सर्वेश्वर मन्दिर क्षेत्र लगायतका मन्दिरहरु अत्यन्त सुन्दर रुपमा सिंगारिएको छ ।

गोकर्णेश्वरमा रहेका सर्वेश्वर, अर्घौतेश्वर, रुद्रेश्वर, सिद्धेश्वर, गोकर्णेश्वर महादेव मन्दिर, वराहकर्णेश्वर लगायत विभिन्न टोलमा रहेका अन्य मन्दिर शिवालय क्षेत्रमा शिवरात्रीको विहानै देखि विशेष चहलपहल रहेको छ । दर्शनार्थीहरुको भिड लागेको छ ।

शिवरात्रीको महत्व

शास्त्रीय वचनअनुसार फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएकाले यो पर्व कालरात्रि (बडादशैँको अष्टमीको रात), मोहरात्रि (कृष्ण जन्माष्टमीको रात), सुखरात्रि (लक्ष्मी पूजाको रात) र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइने शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रिको दिन बिहानदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस दिन अञ्जानमै भए पनि भगवान् शिवको पूजा गरिए महापुण्य हुने विश्वास रहेको उहाँले बताउनुभयो । महाशिवरात्रिका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वाससमेत रहेको उहाँको भनाइ छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका शिवालयमा शुक्रबार रातिदेखि नै भक्तजनहरूको घुइँचो लागेको छ ।