आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

माननीय विमल ठकुरीको प्राथमिकता : माकलबारीबाट गोकर्ण जाने बनदेवि मार्गको मुख चौंडा गर्ने

गोकर्णेश्वर खबर२ फाल्गुन २०७९, मंगलवार १६:५० मा प्रकाशित (१ साल अघि) ६४ पाठक संख्या

२ फागुन, काठमाडौं । वागमति प्रदेश सभा सदस्य विमल ठकुरीले माकलबारीबाट गोकर्ण जाने बनदेवि मार्गको मुख फराकिलो बनाउन प्राथमिकता दिने दावी गरेका छन् । उनले स्थानीय सरकारसँग समन्वय गरी प्रधानमन्त्री कार्यालयमा डेलिगेसन गएर बाटो खुलाउन बलियो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसका लागि प्रदेश सभा सदस्य ठकुरीले नेपाल ट्रष्टसँग पनि समन्वय गर्ने बताए । उनले स्थानीय क्षेत्रको विकासका लागि नेपाल ट्रष्टले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले काठमाडौं क्षेत्र नं. ३ (ख) अन्र्तगतका क्षेत्रको विकासका लागि प्रदेशको बजेटलाई विकासका दिर्घकालिन पूर्वाधार बनाउने गरी ल्याउने योजना रहेको बताए । साना योजनाले स्थानीय क्षेत्रको विकासमा धेरै ठूलो सहयोग नगर्ने भएकोले आफूले दीर्घकालिन प्रभाव हुनेगरी बजेट ल्याउन पहल गर्ने बताए ।

गोकर्णेश्वर १ बाटुलेचौरमा रहेको श्री राम जानकी आधारभुत विद्यालयले सोमबार ३० औं वार्षिकोत्सव तथा अविभावक दिवसलाई सम्बोधन गर्दै ठकुरीले सो बताएका हुन् ।

श्री राम जानकी आधारभुत विद्यालयको ३० औं वार्षिकोत्सव तथा अविभावक दिवसकार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ बहादुर तामाङको अध्यक्षता तथा वागमति प्रदेश सभा सदस्य विमल ठकुरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रधानाध्यापक साधुराम फुयाल, संस्थापक दामोदर खनाल, समाजसेवी गौतम खनाल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा समाजसेवी व्यक्तित्वहरुको आतिथ्यतामा भएको थियो ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा सोमबार वागमति प्रदेश सभा सदस्य विमल ठकुरीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । यसैगरी समाजसेवी गौतम खनाललाई पनि विद्यालयले वागमति प्रदेश सभा सदस्य विमल ठकुरीको हातबाट दोसल्ला ओडाएर र सम्मानपत्र हस्तान्तरण गरि सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।