आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

सुन्धाराको मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै वालेन साहको आपत्ति

गोकर्णेश्वर खबर२६ मंसिर २०७९, सोमबार १५:२३ मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

२६ मंसिर, काठमाडौं । धरहरा पुनर्निर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख वालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् ।

काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज (सोमबार) बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमुनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए ।

मेयर शाहले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माणकार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरेका छन् । रमण कन्ट्रक्सन कम्पनीले सुन्धाराको ठीक पछाडि ठूलो खाडल बनाई त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य वस्तु (काठको लामो पाइप) नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं।२२ का अध्यक्षको सक्रियतामा उक्त निर्माणकार्यको विरोध भएको थियो ।

सो विरोधपछि आज प्रमुख वालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँ वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो ।