आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं क्षेत्र नम्बर ५ मा पैसा बाँड्दै गर्दा एमाले प्रदेश उम्मेदवारसहित तीन नेता पक्राउ

गोकर्णेश्वर खबर२ मंसिर २०७९, शुक्रबार २१:३६ मा प्रकाशित (१ साल अघि) ३० पाठक संख्या

२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलका कार्यकर्ताहरुसँगै एमाले उम्मेदवार पैसा बाँड्दै गर्दा पक्राउ परेका छन् ।

क्षेत्र नम्बर ५ ख का प्रदेश उम्मेदवार दीपक निरौला, बुढानीलकण्ठ नगरपालिका ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पैसा बाँड्दै गर्दा पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका ६ की कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले पक्राउ गरी नारायणथान प्रहरी चौकीमा राखेको छ । शुक्रबार मध्यरात १२ बजेदेखि मौन अवधि शुरु भइरहेको अवस्थामा एमालेका कार्यकर्ताहरु मत किन्दै हिँडेका हुन् ।

उनीहरुलाई त्यहाँबाट केही बेरमै महाराजगञ्ज प्रहरी वृत्तमा ल्याउँदै गरिएको बताइएको छ । निर्वाचन अधिकृतलाईसमेत खबर गरेको बताइएको छ ।

स्थानीयले पैसा बाँड्दै गरेको खबर पाएपछि उक्त घरमा घेरा हालेका थिए । सोही क्रममा पैसा नै दिएको भिडियोसमेत खिचिएको भए पनि उक्त क्यामेरा भने उनीहरुले फुटाइदिएको राजेन्द्र महर्जनले बताए । प्रहरीले निरौलाको गाडीसमेत नियन्त्रणमा लिएर महाराजगञ्ज प्रहरी वृत्तमा राखेको छ ।