आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

देशभर १० हजार आठ सय ९२ मतदानस्थल

गोकर्णेश्वर खबर२ मंसिर २०७९, शुक्रबार २१:३१ मा प्रकाशित (१ साल अघि) ३६ पाठक संख्या

२ मंसिर, काठमाडौं । देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कूल दुई हजार चार सय १२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार एक सय ८७ महिला गरी कूल दुई हजार एक सय ९९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश सभाको प्रत्यक्षतर्फ दुई हजार नौ सय ४३ पुरुष, दुई सय ८० महिला र एक अन्य गरी कूल तीन हजार दुई सय २४ तथा समानुपातिकतर्फ दुई हजार एक सय ९७ पुरुष र एक हजार पाँच सय ११ महिला गरी कूल तीन हजार सात सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै पाँच सय २७ मतदानस्थलमा एक हजार दुई सय ७९ मतदान केन्द्र तोकिएको छ । काठमाडौँमा तीन सय २० मतदानस्थल र सात सय ६७ मतदान केन्द, भक्तपुरमा ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २९० मतदान केन्द्र रहेको छ । काठमाडौँ १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौँ २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौँ ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौँ ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौँ ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौँ ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौँ ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडाँै ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडौँ क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ ।