आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

असहाय गाईबाच्छा संरक्षण अभियानलाई पशु एम्बुलेन्स हस्तान्तरण

गोकर्णेश्वर खबर१७ भाद्र २०७९, शुक्रबार १६:२७ मा प्रकाशित (१ साल अघि) २६४ पाठक संख्या

१७ भदौ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक सहयोगमा असहाय गाईबाच्छा संरक्षण अभियानका लागि खरिद गरिएको पशु एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले संयुक्त रुपमा असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई पशु एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।

कागेश्वरी मनोहरा नगरपालिकाको २२ लाख आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्स सडकमा अलपत्र गाईबाच्छाहरुको उद्धार तथा संरक्षण कार्यका लागि संस्थाले प्रयोग गर्नेछ ।

कामनपा ८ गोठाटार स्थित असहाय गाईबाच्छा संरक्षणस्थलमा गाडिको साँचो हस्तान्तरण अघि भएको कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी, गोकर्णेश्वरका पूर्व उपमेयर शान्ति नेपाल, ओशो धाराका गुरु महेन्द्र भट्टराई, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत,  समाजसेवी कुमार राज सुवेदी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख शान्ता थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ लगायत सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभियानका संयोजक उत्तम पुडासैनीले पशु एम्बुलेन्स हस्तान्तरण पछि सडकमा अलपत्र गाईबाच्छाहरुको उद्धार कार्य सहज र व्यवस्थित हुने भन्दै एम्बुलेन्स सहयोगका लागि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की लगायत नगरपालिका परिवार र आजसम्म असहाय गाईबाच्छा संरक्षण र उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे । सबैको सहयोगले मात्र अभियान सफल भएको भन्दै आगामी दिनमा पनि निरन्तर सहयोगका लागि आग्रह गरे । अहिले असहाय गाईबाच्छा संरक्षण अभियानको आश्रयस्थलमा झण्डै २०० वटा गाईबाच्छाले संरक्षण पाईरहेका छन् ।