आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वरको फोहोर जलाउने मेशिनको बालेन सहित उपत्यकाका ६ जना मेयरबाट अवलोकन 

गोकर्णेश्वर खबर१५ भाद्र २०७९, बुधबार १८:४६ मा प्रकाशित (१ साल अघि) ३२२ पाठक संख्या

१५ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले प्रयोगमा ल्याएको फोहोर जलाउने मेशिन (इन्सिनेरेटर) को आज बुधबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सहित विभिन्न नगरपालिकाका मेयरहरुले अवलोकन तथा निरीक्षण गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको पहलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि वैकल्पिक उपायहरुको खोजी गर्ने सन्दर्भमा गोकर्णेश्वरले सञ्चालनमा ल्याएको फोहोर जलाउने इन्सिनरेटर मेशिनको नगर प्रमुखहरुले अवलोकन तथा निरीक्षण गरेका हुन् ।

आज गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को सिमानामा वागमित किनारमा एयरपोर्ट नजिक रहेको इन्सिनेरेटर मेशिनको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर मञ्जली शाक्य बज्राचार्य, मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत लगायत महानुभावहरुबाट अवलोकन तथा निरीक्षण भएको थियो भनें काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भूवन लामा, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

इन्सिनेरेटर मेशिनको अवलोकन पछि मेयरहरुले यसका सञ्चालनका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । जापानी प्रविधिको फोहोर जलाउने मेशिन (इन्सिनेरेटर) गोकर्णेश्वर नगरपालिकाका वर्तमान मेयर दीपक रिसाल, पूर्व मेयर सन्तोष चालिसे लगायतको टोलीले जापान भ्रमण गरी गोकर्णेश्वर नगरपालिबामा फोहोर व्यवस्थापनका लागि मेशिन लेराएको थियो ।

 

आजै भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा जापानी प्रविधिबाट सञ्चालित कुहिने फोहोरबाट मल बनाउने प्रविधिको पनि मेयरको समुहले अवलोकन गरेको थियो ।

यसैगरी, आजै मध्यपुर थिमी चोकमा रहेको काठमाडौं महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले संयुक्त लगानीमा निर्माण गरेको शंखधर शाख्वा पार्कको पनि अवलोकन गरेको थियो ।