आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

शिवसेनाका विद्रोही समूहका नेता एकनाश शिन्दे महाराष्ट्रका नयाँ मुख्यमन्त्री 

गोकर्णेश्वर खबर१६ असार २०७९, बिहीबार १८:२४ मा प्रकाशित (१ साल अघि) २०५ पाठक संख्या

१६ असार, काठमाडौं । भारतको महाराष्ट्र प्रान्तमा शिवसेना विद्रोही समूहका नेता एकनाश शिन्दे नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । महाराष्ट्रका पूर्वमुख्यमन्त्री तथा बीजेपी नेता देवेन्द्र फडणवीसले पत्रकार सम्मेलनमार्फत शिन्दे आगामी मुख्यमन्त्री बन्ने जानकारी दिएका हुन् ।

फडणवीसले राज्यपाल भगतसिंह कोश्यारीलाई भेटेपछि शिन्देलाई मुख्यमन्त्री बनाउने जानकारी दिएका हुन् । बुधबार उद्धव ठाकरेले राजीनामा दिएपछि बीजेपीबाट फडणवीस मुख्यमन्त्री र शिन्दे उपमुख्यमन्त्री बन्ने आकलन गरिएको थियो । तर बिहीबार अचानक फडणविस र शिन्देले संयुक्त पत्रकार सम्मेलन गर्दै महाराष्ट्रको विकासका लागि बीजेपी र शिवसेना फेरि एकपल्ट एकसाथ आएको बताएका छन् । शिन्देले बिहीबार साँझ नै शपथ लिने पनि फडणवीसले जानकारी दिएका छन् ।

सन् २०१९ को विधानसभा चुनावको जनमतको उद्धव ठाकरे पक्षले अपमान गरेको समेत फडणवीसले बताएका छन् । शिवसेना र बीजेपी मोर्चा बनाएर चुनाव लडे पनि पछि उद्धवले कांग्रेस र शरद पवार नेतृत्वको एनसीपीसँग मिलेर सरकार बनाएका थिए । त्यसै कारणले फडणवीसको सरकार ६ दिनमै ढलेको थियो ।