आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षका लागि थुनामा

गोकर्णेश्वर खबर१६ असार २०७९, बिहीबार १८:०२ मा प्रकाशित (१ साल अघि) २१७ पाठक संख्या

१६ असार, काठमाडौं । बाल यौन दुर्व्यवहारको अभियोग लागेका सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरुको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । उनीहरुले बस्नेतले माया गरेजस्तो गरी संवेदनशील अंगमा छुने, मोवाइलमा अश्लिल फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने धम्की दिएको वयानमा बताएका थिए ।

गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयको होस्टलमा बस्ने ती किशोरीले आफूहरुमाथि भएको यौन दुव्र्यवहारबारे अभिभावकलाई जानकारी गराएका थिए । गत जेठ २० गते अभिभावकले घटनाबारे शिक्षालयका प्रिन्सीपल दुर्गानाथ शिवाकोटीलाई जानकारी गराएक थिए । बस्नेतले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

शिक्षालयका प्रिन्सीपल दुर्गानाथ शिवाकोटीले बस्नेतमाथि कारबाही अगाडि बढाउन अस्वीकार गरेको भन्दै अभिभावकले होस्टलमा नाराबाजी गरेका थिए । उनीहरुले त्यसै दिन प्रहरी वृत्त वौद्धमा जाहेरी दिएका थिए । त्यसै आधारमा प्रहरीले जेठ २१ गते होस्टल वार्डेन बस्नेतलाई पक्राउ गरेको थियो ।