आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मोरङमा ३ सय ५० बढि घर डुबानमा

गोकर्णेश्वर खबर१५ असार २०७९, बुधबार १२:२४ मा प्रकाशित (१ साल अघि) १४१ पाठक संख्या

१५ असार, काठमाडौं । अवरिल वर्षाका कारण मोरङमा ३ सय ५० बढि घर डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार बुधबार बिहानसम्म जिल्लाका विभिन्न स्थानमा गरि ३ सय ६७ वटा घर डुबानमा परेको हो। प्रहरी कार्यालय मोरंगका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार मोरंगको सिंघिया खोलाका कारण ३ सय ५९ वटा घर डुबानमा परेको छ।

उनका अनुसार वर्षाका कारण सिंघिया खोलामा पानीको सहत बढेपछि कटहरी गाउँपालिका १, विराटनगर महानगरपालिका ८, ७, जहदाँ गाउँपालिका १, २ र बुढीगंगा गाउँपालिका १ मा सो संख्यामा घर डुबानमा परेको हो।

सिंघिया खोलाका कारण हालसम्म १ हजार ३ सय ३५ परिवार संख्या प्रभावित भएका छन्। प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार जहदाँ गाउँपालिकामा डुबानबाट प्रभावित ४ सय ५० परिवार संख्या भने खोलामा पानी कम हुदै गएपछि आफनै घर फर्किएका छन्।

योसँगै हालसम्म जिल्लाभरी डुबान र बाढीका कारण १ हजार ३ सय ६८ परिवारसंख्या प्रभावित भइसकेको प्रहरीले जनाएको छ। उनीहरुलाई सुरक्षित स्थलमा बसोबासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका, सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकामा बाढी डुबान हुँदा स्थानीय प्रभावित भएका छन्।