आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

देशभर १४ हजार ४०२ महिला जनप्रतिनिधि निर्वाचित

गोकर्णेश्वर खबर१२ जेष्ठ २०७९, बिहीबार १८:२१ मा प्रकाशित (१ साल अघि) ५५१ पाठक संख्या

काठमाडौं, जेठ १२ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा ५५ हजार ६९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४०२ महिला निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार सो संख्यामा महिला निर्वाचित भएको देखिएको हो ।

प्रमुख र उपप्रमुख महिला

तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवैजना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवति राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली काँग्रेस र न्यौपाने नेकपा ९एमाले० बाट उम्मेदवार बन्नुभएको थियो ।

सोहीअनुसार दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवैजना काँग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

त्यस्तै, कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख काँग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो ।

कुन प्रदेशमा कति महिला

प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकोमा २ हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । त्यस्तै, मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकोमा २ हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमति प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकोमा २ हजार ३४७ जना निर्वाचित हुनुभयो ।

यसैबीच गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकोमा १ हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकोमा २ हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो ।

आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकोमा १ हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकोमा १ हजार ५६० जना निर्वाचित हुनुभयो ।

प्रमुख पदमा महिला

देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ । त्यस्तै, झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवति राजवंशी निर्वाचित हुनुभयो ।

त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मिनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो ।

सोहीअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै, रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो ।

त्यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाई, मकवानपुरको हेटौडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल, सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो ९थारु०, निर्वाचित हुनुभएको छ ।

यसैबीच नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै, पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो । त्यस्तै, दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ ।

सोहीअनुसार आयोगको हालसम्मको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै १ जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । त्यस्तै, ४ वटा पालिकाको परिणाम आउन बाँकी छ ।

-गोरखापत्र