आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

मोदी-देउवा द्विपक्षीय वार्ता जलविद्युत्को विकास र विस्तारमा केन्द्रित हुने

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार १०:२१ मा प्रकाशित (१ साल अघि) ३०६ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ ।

दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ ।

वार्तामा नेपालले शिक्षा तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणका निम्ति विकास सहायता, व्यापार सहजीकरण, पारस्परिक हित, सहकार्य र साझेदारी प्रवद्र्धनलाई प्रमुख रुपमा उठाउने छ ।

भारतका प्र्रधानमन्त्री नरेन्द्र मोदीसित लुम्बिनीमा भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ लुम्बिनीमा आएका छन् ।

भारतका प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा लुम्बिनी उत्रिनेछन् । त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम छन् । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।