आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

नेपालले जित्यो टी–२० श्रृंखला

गोकर्णेश्वर खबर२१ चैत्र २०७८, सोमबार १६:४२ मा प्रकाशित (२ साल अघि) २०५ पाठक संख्या

२१ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी–२० श्रृखंलाको उपाधि जितेको छ ।

मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालका लागि सन्दीप लामिछानेको कप्तानीमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो । यससँगै नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिजमा खेपेको हारको बदला समेत लिएको छ ।

यसअघि भएको दुई खेलको एकदिवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । जितका लागि एकसय ६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेटको क्षतिमा ११८ रनमा समेटियो । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । चाल्स अमिनीले १५ रन जोडे भनें अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पीएनजीलाई सस्तैमा समेट्न बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ह्याट्रिक सहित चार विकेट लिए । अलराउन्डर दीपेन्द्र टी–२० मा नेपालका लागि सर्वाधिक हजार रन बनाउने खेलाडी समेत बनेका छन् ।

पीएनजीविरुद्ध नेपालको प्लेइङ  : ११ 

सन्दीप लामिछाने (कप्तान), दिलीपनाथ (विकेट किपर) कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा ।