FLASH NEWS
आज: १५ असार २०७९, बुधबार | Wed, 29, Jun, 2022 Gokarneshwor TV HD

नेपाल र भारतबीच पारस्परिक सहयोग एवं सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

गोकर्णेश्वर खबर१९ चैत्र २०७८, शनिबार १९:१८ मा प्रकाशित (२ महिना अघि) १२६ पाठक संख्या

१९ चैत, काठमाडौं । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच यहाँस्थित हैदरावाद हाउसमा भएको वार्तापछि अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग, पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच विशेषज्ञ आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आजै दुवै देशका प्रधानमन्त्रीले कुर्था–जयनगर यात्रुवाहक रेल सेवालाई झन्डा देखाएर शुभारम्भ गरेका छन् । यसैगरी, नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ पनि संयुक्त रुपमा सार्वजनिक गरिएको छ । प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीले सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त प्रसारण लाइन भारत सरकारको रु तीन अर्ब २० करोड ऋण सहयोगमा र भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएको हो ।

समझदारीपत्रमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्धका विविध पक्षमा फलदायी छलफल भएको बताए । प्रधानमन्त्र िदेउवाले भारतसँग नेपालको सम्बन्ध अति महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारतले गरेको प्रगतिको प्रशंसा गरे ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भारतले गरेको प्रभावकारी व्यवस्थापनको सराहना गर्दै प्रधानमन्त्री देउवाले महामारीविरुद्धको नेपालको लडाइँमा भारतबाट पहिलो खोप सहायताका साथै औषधि, चिकित्सा उपकरण उपलब्ध गराएकामा भारतप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।