आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

देशभरका ७५३ वटै स्थानीयतहमा प्राविधिक शिक्षा सञ्चालन हुने

गोकर्णेश्वर खबर४ चैत्र २०७८, शुक्रबार २०:१७ मा प्रकाशित (२ साल अघि) ६१७ पाठक संख्या

४ चैत, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका ७५३ वटै स्थानीयतहमा प्राविधिक शिक्षा सञ्चालन हुने बताएका छन् । शुक्रबार कमलामाई नगरपालिका–४ मा रहेको सिन्धुली विद्याश्रम अंग्रेजी मावि सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘राजनीतिक पहुँच हुनेहरुले एउटै वडामा तीन वटासम्म प्राविधिक शिक्षालय सञ्चालन गरेका छन्। पहुँच नहुने दुर्गमका क्षेत्रमा एउटा पनि छैन। अब यस्तो अवस्था आउँदैन, सरकारले अब एउटै मापदण्ड बनाएर कम्तीमा एक पालिका एक प्राविधिक शिक्षा सञ्चालन गर्छ,’ मन्त्री देवेन्द्र पौडेलले भने ।

उनले आगामी शैक्षिक शत्रबाट विद्यालयतहको एसइई परिक्षा प्रदेश परीक्षा बोर्डले सञ्चालन गर्ने समेत बताए । यसका लागि यही वर्षभित्र प्रदेश परीक्षा बोर्डको गठन हुनेछ । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलको भनाइ छ ।

यस्तै कार्यक्रममा पूर्व कृषिमन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निशुल्क गर्न नसक्दा भ्रष्ट्राचार बढेको तर्क गरे। राजनीतिक नेतृत्व र सरकारले जनअपेच्छा अनुसारको काम गर्न नसक्दा शैक्षिक गुणस्तर झनझन् खस्किँदै गएको गजुरेलको भनाइ छ ।