आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पल शाहविरुद्ध नवलपरासी पूर्व जिल्ला अदालतमा अभियोगपत्र दायर

गोकर्णेश्वर खबर३ चैत्र २०७८, बिहीबार २०:३१ मा प्रकाशित (२ साल अघि) ६९२ पाठक संख्या

३ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपरासी पूर्व जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । बलात्कार मुद्दामा प्रहरी नियन्त्रणमा रहेका शाहविरुद्ध अभियोगपत्र दायर भएको हो । बिहीबार तनहुँ प्रहरी कार्यालयले पनि अनुसन्धान गरिरहे पनि नवलपुरस्थित नवलपरासी पूर्व जिल्ला अदालतमा उनीबिरुद्ध मुद्दा दर्ता भएको हो ।

१६ वर्षीया नाबालिग किशोरीले दिएको उजुरीका आधारमा गत फागुन १५ गते तनहुँ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । ती किशोरीले फागुन ११ गते अभिनेता शाहबिरुद्ध बलात्कारमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि तिनै किशोरीले उनीबिरुद्ध गैँडाकोट प्रहरीमा पनि बलात्कारमा किटानी जाहेरी दिइन् ।

बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो । अहिले शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा छन् ।

शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दर्ता गरिएको हो । शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । उनलाई अभियोग प्रमाणित भएमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुन्छ ।