आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

भेनस नेशनल कलेजमा आज देखि चैत १ गतेसम्म स्पोर्टस् कार्निभल

गोकर्णेश्वर खबर२७ फाल्गुन २०७८, शुक्रबार १२:३४ मा प्रकाशित (२ साल अघि) ५५२ पाठक संख्या

२७ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशिगाउँमा रहेको भेनस नेशनल कलेजमा आज देखि चैत १ गतेसम्म हुने स्पोर्टस् कार्निभलको शुभारम्भ भएको छ । आज वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको विशेष आतिथ्यतामा भएको एक कार्यक्रममा स्पोर्टस् कार्निभलको शुभारम्भ भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले खेलकुदले विद्यार्थीको रचनात्मक शक्तिको विकास गर्ने भएकोले अनुशासित भई खेलकुदमा भाग लिन आग्रह गरे ।

यसैगरी, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकाले खेलकुदको विकासमा विशेष प्राथमिकता दिएकोमा जोड दिंदै खेलकुदबाट नगरपालिकाको पहिचान बढाउन भूमिका खेल्न आग्रह गर्दै भेनस नेशनल कलेजमा आयोजित स्पोर्टस् कार्निभलका विद्यार्थी, खेलाडीलाई प्रोत्साहन गर्दै दुई लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा क्याम्पका अध्यक्ष पेमा छिरि शेर्पाले भेनस नेशनल कलेजले विद्यार्थीको सर्वागिण व्यक्तित्व बिकासको वातावरण तयार गर्न कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, क्याम्पस प्रमुख कृष्ण गौतमले गुणस्तरीय शिक्षाका अतिरिक्त विद्यार्थीको व्यक्तित्व विकासलाई कलेजले प्राथमिकता दिएर स्पोर्टस् कार्निभल लगायतका कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा प्याब्सन काठमाडौंका सचिव सुदर्शन थापा, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष दुर्गानाथ सिवाकोटी, प्याब्सन कागेश्वरी महनोहराका अध्यक्ष श्रीराम दाहाल, एनप्याब्सन गोकर्णेश्वरका अध्यक्ष मोहन अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्निभलमा फुटवल, बास्केटबल, टेबलटेनिस, हाई जम्प, लङ जम्प लगायतका विभिन्न खेलकुदमा विद्यार्थीले प्रतिश्पर्धा गर्नेछन् ।