आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

द्रुत मार्गको सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

गोकर्णेश्वर खबर२५ माघ २०७८, मंगलवार ०८:४० मा प्रकाशित (२ साल अघि) १४८ पाठक संख्या

२५ माघ, काठमाडौं । निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल (हाई ब्रिज)को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ ।

सुरुङ मार्ग तथा हाई ब्रिजको डिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीहरूले सर्भेको कामसमेत सुरु गरिसकेका छन् । दुई महिनाभित्र सर्भे सकेर निर्माण थालिनेछ । द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाई ब्रिज दुई प्याकेजमा निर्माण गरिँदै छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेव डाँडा खण्डमा निर्माण गरिँदै छ । यस खण्डमा निर्माण गरिने सुरुङमार्ग र हाई ब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर छ ।

त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिँदै छ । यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिनेछ ।

पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः करिब २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ । द्रुत मार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । ती कम्पनीले असारदेखि डिजाइनको काम सुरु गरेको थियो । सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो ।