आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मोरङ हत्याकाण्ड : ‘कमिशन’ एक्लै खानका लागि हत्या

गोकर्णेश्वर खबर२१ माघ २०७८, शुक्रबार १३:४८ मा प्रकाशित (२ साल अघि) ५०८ पाठक संख्या

२१ माघ, काठमाडौं । कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले अनिलकुमार मण्डलले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।

ललितपुरमा रहेको डेढ अर्बको जग्गा राखेर ‘बैंक ग्यारेन्टी’ बापत आउने मोटो रकम एक्लै खानका लागि हत्या भएको देखिएको प्रहरीले बताएको छ । बैंक ग्यारेन्टी’ तयार हुने र कमिशन आउने प्रक्रिया अन्तिम अवस्थामा पुगेपछि अनिलकुमार मण्डलले कमिशन आफुमात्रै खानेगरी अरुको हत्या गर्ने योजना बनाएको देखिएको छ ।

३ जना मृतक र मुख्य आरोपी अनिलकुमार मण्डलको बीचमा पूर्व चिनजान थियो । राजेन्द्रकुमार श्रेष्ठ जग्गाको कारोबार गर्थे । शम्भु चौधरीचाहिँ ठेक्कापट्टा गर्थे । सातदोबाटोमा रहेको एक फाइनान्सको अध्यक्ष छन्, अनिलकुमार मण्डल । अनिलले पठाओ जस्तै राइड सेयरिङ एप ‘सफल यात्रा’ पनि सञ्चालन गरेका छन् । राजेन्द्र श्रेष्ठसँग राम्रो सम्बन्ध भएका अनिल उनलाई जग्गा किन्ने ग्राहक भेट्टाउँथे र कमिशन लिन्थे ।

ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित धापाखेलमा मृत भेटिएका मोहनप्रसाद लिम्बुको विश्वासपात्र थिए– ‘राजेन्द्र श्रेष्ठ ।’ राजेन्द्रको मोटरसाइकल पछाडि बसेर हिँड्थे लिम्बु । शम्भु चौधरी र मोहन लिम्बुको पनि चिनजान थियो ।

शम्भुले दाङको लमहीमा बन्दै गरेको सडकको ठेक्कामा पार्टनरसीप गरेका थिए । त्यसका लागि उनलाई ‘बैंक ग्यारेन्टी’ चाहिने भयो । सो कुरा राजेन्द्र र मोहनसँग उनले सेयर गरे । अनिल मण्डलसँग पनि त्यसबारे सल्लाह भयो ।

राजेन्द्र, मोहन र अनिलले बैंक ग्यारेन्टी लिन जग्गा धितोमा राखेर कमिसनमा काम गर्ने मान्छे भेट्टाइदिए । उनि थिए–‘हरि खड्का ।’ ललितपुरमा रहेको डेढ अर्बको जग्गा राखेर ‘बैंक ग्यारेन्टी’ बनाउन खड्का सहमत भए । त्यसबापत उनीहरुले मोटो रकम कमिशन लिँदै थिए ।

‘बैंक ग्यारेन्टी’ तयार हुने र कमिशन आउने प्रक्रिया अन्तिम अवस्थामा पुगेपछि मोहन लिम्बुले ‘किचकिच’ गर्न थाले । कमिशन समूहमा बाँड्नुपर्ने थियो । अनि, अनिलकुमार मण्डलले कमिशन आफुमात्रै खानेगरी अरुको हत्या गर्ने योजना बनाएर नै ३ जनाको हत्या गरेको देखिएको रातोपाटी अनलाईनले उल्लेख गरेको छ ।

सिरहा घर भएका अनिलकुमार मण्डल । मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भएका शम्भु चौधरीको शव माघ १३ मा भेटिएको थियो ।

उनको शव भेटिएको ठाउँभन्दा २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको शव माघ १४ मा फेला परेको थियो । चौधरी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएको अनुसन्धानबाट थाहा भएको छ ।