आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

ललितपुर महानगरपालिकाले सडकमा स्मार्ट लाइट जडान गर्ने

गोकर्णेश्वर खबर२० माघ २०७८, बिहीबार ०९:१८ मा प्रकाशित (२ साल अघि) १५७ पाठक संख्या

२० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले स्मार्ट लाइट सिस्टमसहित सडक बत्ती जडान गर्ने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो । करिब ९ करोडको लागतमा बत्ती जडानको गर्न लागिएको महानगरले जानकारी दिएको छ ।

यसअघि ललितपुरको मुख्य शहरी क्षेत्रमा जडान भएका ६६९ वटा बत्तीले रातको समयमा शहरमा प्रभावकारी भएकाले अब बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त हुने भएका छन् । महानगरपालिकाका महत्वपूर्ण चोकमा १४ वटा हाइमास्ट स्मार्ट सडक बत्ती पनि जोड्न लागिएको छ ।

स्मार्ट लाइट साँझको समयमा बढी चहकिलो बल्छ । यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन् । यो बत्ती बेलुकी पुरै क्षमता ६० वाटमा बल्छ । तर, राति १० बजेदेखि विहान ४ बजेसम्म यो लाइटले ४० प्रतिशत कम भोल्टेज खपत गर्नेगरी ३० वाटमा बल्छ । यो बत्तीको बिल पनि खपतका आधारमा स्वचालित रुपमा सिस्टमले नै तयार गर्छ ।

११ सय स्मार्ट सडक बत्ती जोडेपछि तेस्रो चरणमा चक्रपथको ललितपुरभित्र पर्ने ७.९ किलोमिटर खण्डमा पनि बत्ती जोड्न टेन्डर हुने र त्यसका लागि पूर्वतयारीको काम भइरहेको छ ।