आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नेपालमा एक करोड ३७ लाखलाई पूर्ण खोप

गोकर्णेश्वर खबर१४ माघ २०७८, शुक्रबार ०८:४७ मा प्रकाशित (२ साल अघि) ८८ पाठक संख्या

१४ माघ, काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ३७ लाख ३४ हजार ३९० पुगेको छ ।

यस्तै अतिरिक्त खोप लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार ७२४ पुगेको छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४.२ र पूर्ण मात्रा लगाउने ४५.२ प्रतिशत पुगेका छन् । लक्षित जनसङ्ख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ । हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ । उमेर १ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान छिटै सुरु गरिने जानकारी सरकारले गराएको छ ।

२०७७ माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । नेपालमा कोरोनाविरुद्धको पहिलो पटक भित्रिएको कोभिसिल्ड खोप लगाएर खोप अभियान सुरु गरिएको थियो । सुरुमा खोप आउँदा नेपालमा प्रयोग गर्नका लागि मात्र खोप ल्याइएको हो भन्ने प्रचारले नागरिकलाई खोपप्रति आकर्षण थिएन । सर्वसाधारण मात्र नभई चिकित्सक, नर्सहरू पनि खोपप्रति विश्वस्त हुन सकेका थिएनन् ।

खोपप्रति विश्वास दिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्चलगायतका सङ्घ, संस्थाहरूले खोप अभियान सफल बनाउन जनचेतना अभियान नै सुरु गरे । पहिलो पटक भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो ।

पछि नेपालले २० लाख खोप खरिद गर्दा भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सकेको थिएन । कोरोना महामारी बढ्दै गएपछि खोपप्रति नागरिकको आकर्षण नै बढ्दै गयो । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा अब कोरोनाबाट बच्न खोप मात्र विकल्प भएको भन्दै खोप लगाउन थालिएको थियो ।

पछिल्लो समय ठूलो शक्ति प्रयोग गरेर पनि नेपालमा खोप लगाउन थालियो । सुरुमा स्वास्थ्यकर्मीपछि पत्रकार, सुरक्षाकर्मीहरूलाई खोपको प्राथमिकतामा राख्दासमेत कतिपय पत्रकारले पनि खोप लगाउन मानेका थिएनन् ।

पछि सङ्क्रमण बढ्न थालेपछि खोप पाइएन र सर्वोच्च अदालतमा पत्रकारहरूले मुद्दा हालेर ‘खोप लगाउन दिनूू’ भन्ने आदेश सर्वोच्चले दिएको थियो । सर्वोच्चले आदेश दिए पनि खोप नभएका कारण खोप लगाउन पाइएको थिएन ।